पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

फिदिम खेलमैदानलाई पूर्णता दिन बजेटको प्रवन्ध गर्ने मन्त्री लिम्बूको प्रतिवद्धता

चिन्तन खबर

फिदिम । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले फिदिममा रहेको फिदिम माध्यमिक विद्यालयको खेलमैदानको निर्माण कार्यलाई पूर्णता दिन बजेटको ब्यवस्था गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभएको छ ।

मन्त्री लिम्बू उक्त खेलमैदान शीघ्र सम्पन्न गर्न आफूले प्रयास गर्ने वताउनुभयो । “बजेट अभावका कारण खेलमैदान निर्माण अवरुद्ध भएको पाएँ । यस खेलमैदानको निर्माणमा जिल्लावासी सबैको सबैको ऐक्यवद्धता पाउँदा आफूलाई खुशी लागेको छ”, उहाँले भन्नुभयो, “सरकार बजेटको सुनिश्चितता गरेर निर्माण अघि बढाउन प्रतिवद्ध छ ।”

तर निर्माण ब्यवसायी पक्षले काम नगर्ने र बजेट फिर्ता हुने अवस्था आउन दिन नहुने मन्त्री लिम्बूको भनाई छ । “निर्माण कम्पनीले काम नगर्ने, पैसा मात्रै हाल्ने काम हुनु हुँदैन् । काम युद्धस्तरमा हुनुपर्छ । दुई सिफ्ट गरेर भएपनि यो खेलमैदान निर्माण सम्पन्न हुनुपर्छ”, उहाँले भन्नुभयो ।

सरकारले विकासमा प्राथमिकता तोकेर अघि बढिरहेको मन्त्री लिम्बूले वताउनु भयो । अहिले देशको ढुकुटी बलियो नभएका कारण सरकारले विकासका योजनालाई प्राथमिकता तोकेर अघि बढाइरहेको मन्त्री लिम्बूको भनाई छ ।

मुलुकको ढुकुटी ढुकुटी बलियो नहुनाले चाहेजति योजना अघि बढाउने स्थिति सरकार नरहेको वताउँदै मन्त्री लिम्बूले सरकार अधुरा योजनाहरुको पूर्णतामार्फत प्रतिफल दिलाउन लागिपरेको वताउनुभयो । पाँचथरको फिदिममा आजबाट सुरु भएको चौथो पाँचथर गोल्डकप फुटवल प्रतियोगिताको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लिम्बूले आफूले आफ्नो नौ महिनाको कार्यावधिमा खेलकुदका धेरै संरचना अधुरो पाएको वताउनुभयो ।

“धेरै जिल्लामा खेलकुदका संरचना अधुरो रहेको पाएँ । योजना अधुरो हुँदा खर्बौं रुपैयाँ खेर गएको अवस्था छ । त्यसलाई सदुपयोग गर्न दत्तचित्त भएर काम गर्ने परिपाटीको विकास गर्नु जरुरी छ”, मन्त्री लिम्बूले भन्नुभयो ।

मन्त्री लिम्बूले जिल्लाका युवाहरुले निर्माणका काम कसरी अघि बढिरहेको छ भनेर निरन्तर निगरानी गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले खेल क्षेत्रको विकासका लागि सबैको सहयोग रह्यो भने मात्रै अघि सकिने र विकास निर्माणमा सबैको ऐक्यवद्धता हुनुपर्ने वताउनुभयो ।

फरक प्रसङ्गमा मन्त्री लिम्बूले वर्तमान सरकारले सुशासनलाई प्राथमिकतामा राखेर काम गरिरहेको वताउनुभयो । उहाँले सरकारले राम्रो काम गर्दा पनि विरोध मात्रै गर्ने, नकारात्मक कुरा मात्रै गर्ने अवस्था देखिने गरेको वताउँदै नकारात्मक कुरा मात्रै गरेर अघि बढ्न नसकिने वताउनुभयो ।

मन्त्री लिम्बूले युवाहरुले सकारात्मक सोच र दृष्टिकोणको विकासमा लाग्नुपर्ने वताउनुभयो । विशेषत खेलकुदको क्षेत्रमा क्रियाशील युवाहरुले अनुशासन, क्षमता र कलालाई नयाँ पुस्तासम्म बाँढ्नुपर्नेमा मन्त्री लिम्बूले जोड दिनुभयो ।

पाँचथरको फिदिममा आजबाट सुरु भएको चौथो पाँचथर गोल्डकप आगामी फागुन १९ गतेसम्म चल्नेछ । प्रतियोगितामा स्वदेशका सात र भारतको एक गरी आठ फुटवल टोलीको सहभागिता रहेको आयोजक पाँचथर क्लबका अध्यक्ष निशान शिवाकोटीले जानकारी दिनुभयो ।