काठमाडौँ । नेपाली कांग्रेसकी नेत्री लक्ष्मी बरालले पार्टीको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ। लामो समयदेखि नेपाली कांग्रेसको संगठन निर्माण र महिला अधिकारका क्षेत्रमा सक्रिय रहँदै आउनुभएकी बरालले पार्टीभित्र समावेशी नेतृत्व र सुदृढ संगठन निर्माणलाई आफ्नो प्राथमिकतामा राख्नुभएको छ।
२०४६ सालदेखि नेपाली कांग्रेसमा सक्रिय बरालले महिलाहरूको हक, अधिकार र राजनीतिक सहभागिता सुनिश्चित गर्न निरन्तर आवाज उठाउँदै आउनुभएको छ। उहाँले महिलाका सवाललाई पार्टीको नीति, नेतृत्व र निर्णय प्रक्रियासँग अझ प्रभावकारी रूपमा जोड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
भूगोलतर्फ मधेस प्रदेशबाट केन्द्रीय महासमिति सदस्यमा उम्मेदवारी दिनुभएकी बरालका मुख्य एजेन्डामा समावेशी प्रतिनिधित्व, सुदृढ संगठन, युवालाई प्रोत्साहन, महिलाको हकहितका लागि जिम्मेवार नेतृत्व तथा समृद्ध नेपाल निर्माण रहेका छन्।
रौतहट क्षेत्र नम्बर ४, चन्द्रनिगाहपुरलाई स्थायी बसोबास बनाउँदै आउनुभएकी बरालले यसअघि नेपाली महिला संघको केन्द्रीय सदस्यलगायत विभिन्न जिम्मेवारीमा रहेर नेपाली कांग्रेसमा योगदान पुर्याउनुभएको छ।
पार्टी संगठनलाई थप मजबुत बनाउने, नयाँ पुस्तालाई नेतृत्वमा जोड्ने र महिलाको राजनीतिक सहभागिता विस्तार गर्ने उद्देश्यसहित आफूले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेको बरालको भनाइ छ।
महिला अधिकार, समावेशी प्रतिनिधित्व र संगठन सुदृढीकरणलाई प्राथमिक एजेन्डा बनाउँदै बरालको उम्मेदवारीले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महिला नेतृत्वको बहसलाई थप अगाडि ल्याउने देखिएको छ।









प्रतिक्रिया