काठमाडौं । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष टी– २० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले शानदार प्रदर्शन गरेको छ । नेपालले मंगोलियालाई दुई सय ७३ रनको फराकिलो अन्तरले हराएको हो ।
टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर तीन सय १४ रन बनाएको थियो । यो जितसँगै नेपालले मंगोलियाविरुद्ध विश्व कीर्तिमानी जित हासिल गरेको छ ।
यसअघि टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा फराकिलो अन्तरको जितको कीर्तिमान चेक रिपब्लिकको नाममा थियो । चेक रिपब्लिकले सन् २०१९ मा टर्कीलाई दुई सय ५७ रनले हराएको थियो । नेपालले त्यो कीर्तिमान तोडेको हो ।
नेपालले दिएको तीन सय १४ रनको लक्ष्य पच्छ्याएको मंगोलियाले १३।१ ओभरमा अलआउट हुँदै ४१ रनमात्र जोड्यो । मंगोलियाका एक दाबा सुरेनले १० रन जोडे । अन्य खेलाडीले भने दोहोरो अंकको रन जोड्न सकेनन् ।
प्रतिक्रिया