पाँचथर। पाँचथरमा जनताले तिरेको करले नेपाली कांग्रेसको पार्टी कार्यालय निर्माण हुँदैछ ।
निर्माणाधीन पार्टी कार्यालयका लागि फिदिम नगरपालिका, फालेलुङ गाउँपालिका र तुम्बेवा गाउँपालिकाले जनताले तिरेको करको लाखौँ रूपैयाँ बजेट विनियोजन गरेका छन् ।
भवन निर्माणबारे राखिएको सूचना पाटीमा उल्लेख भएअनुसार फिदिम नगरपालिकाले १० लाख, तुम्बेवा गाउँपालिकाले ६ लाख र फालेलुङ गाउँपालिका ५ लाख रूपैयाँ विनियोजन गरेका छन् ।
फिदिममा कांग्रेसका मित्रप्रसाद काफ्ले प्रमुख, तुम्बेवामा बाबुराम खड्का अध्यक्ष र फालेलुङमा वीरविक्रम थाम्सुहाङ अध्यक्ष छन् ।
उनीहरूले आफ्नो पार्टी कार्यालय निर्माणका लागि चालु आर्थिक वर्ष २०८०/०८१ को बजेट विनियोजन गरेका हुन् ।
आयोजना पाटीमा कांग्रेस पार्टी कार्यालयको नाम भने ‘हरिहंश स्मृति प्रतिष्ठान बहुउदेश्यीय भवन’ भनिएको छ ।
छद्म नाममा पार्टी कार्यालय निर्माण भइरहेको हो । यसबारे आयोजना निर्माण उपभोक्ता समिति सदस्य सुवराज थापाले भने स्टाटसमार्फत् कांग्रेस पार्टी कार्यालय नै बन्दै गरेको स्पष्ट पारेका छन् । त्यसका लागि घडेरी सम्याउने कार्य सुरु भएको उनले स्टाटसमा लेखेका छन् ।
‘नेपाली कांग्रेस पार्टी जिल्ला कार्य समिति पाँचथरको भवन निर्माणको लागि जग्गा सम्याउने कार्य सुरु भयो । सबैको साथ र सहयोगको अपेक्षा गरेका छौँ’, यही ८ मंसिरमा पोष्ट गरिएको स्टाटसमा उल्लेख छ ।
पाँचथर कांग्रेसका एक नेताले दिएको जानकारी अनुसार ‘कांग्रेस पार्टी कार्यालय भवन’ राख्दा स्थानीय सरकार र संघ सरकारको शहरी विकास मन्त्रालयबाट बजेट नपाइने भएकाले ‘हरिहंश स्मृति प्रतिष्ठान बहुउद्देश्यीय भवन’ नाम राखिएको हो ।
पार्टी कार्यालय नभनी बहुुउदेश्यीय भवन उल्लेख गरिएपछि शहरी विकास मन्त्रालयले चालु आर्थिक वर्षमा ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
भवन निर्माणका लागि जग्गा तत्कालीन जिल्ला विकास समिति पाँचथरका पूर्वसभापतिसमेत रहेका स्वर्गीय कांग्रेस नेता हरिश्चन्द्र नेम्बाङ र पत्नी हंशरानी नेम्बाङको परिवारले फिदिम नगरपालिका–२ को नेपालटारमा दिएको हो ।
उनीहरूकै नाममा गुप्तरूपमा कांग्रेस पार्टी कार्यालय निर्माण भइरहेको हो । यसप्रति पाँचथरमा विरोध भइरहेको छ । कांग्रेस नेताहरू भने मौन छन् ।
प्रतिक्रिया