काठमाडौं । आइतबार राप्रपाका केही पदाधिकारी र केन्द्रीय सदस्यहरु पूर्वअध्यक्ष पशुपतिशमशेर राणासँग माफी माग्न उनको निवास ‘विजयबास’मा भेला भए । दसैँको शुभकामना आदानप्रदान भनिएपनि त्यसको उद्देश्य अर्कै थियो । त्यो उद्देश्य भनेको अध्यक्ष राजेन्द्र लिङ्देनको निर्देशनमा पूर्वअध्यक्ष राणालाई गल्ती भयो भन्दै फकाउनु थियो ।
असोज १७ गते लिङ्देनले क्यान्सरको उपचार गर्न भारतमा रहेका महामन्त्री डा. धवलशमशेर राणालाई संगठन विभाग प्रमुखबाट एकाएक पदमुक्त गरेपछि राप्रपाभित्र र जनमानसमा लिङ्देनको ठूलो आलोचना भएको छ । लिङ्देनले पूर्वअध्यक्षद्वय राणा र डा. प्रकाशचन्द्र लोहनीलगायत कसैलाई सुइको नदिइ एकलौटी महामन्त्री धवलशमशेरलाई जिम्मेवारीमुक्त गरेका थिए ।
उक्त घटना सार्वजनिक भएपछि पूर्वअध्यक्ष राणाले शुक्रबार भारत जाने हवाइ टिकट रद्द गर्दै आइतबार सारेका थिए । महामन्त्रीमाथि विनाकारण कारवाही भएकोमा पूर्वअध्यक्ष राणा गम्भीर र चिन्तित छन् । त्यसैले झापामा रहेका लिङ्देनलाई कुरा मिलाउन सुझाव र दवाब दिँदै फोनबाटै उनले असन्तुष्टि व्यक्त गरे ।
लिङ्देनले त्यसैकारण उपाध्यक्ष बुद्धिमान तामाङको नेतृत्वमा टोली बिजयबास पठाए । तामाङले एक्लै भेटेर राणासमक्ष अध्यक्षले सल्लाह नगरेर गल्ती गरेको भन्दै क्षमा दिन बिन्ती बिसाए । बाहिर खुला छलफलमा भने धनबहादुर बुढा, प्रकाश रिमाल र हिक्मत कार्कीले अध्यक्षको बचाउ गर्दै सहयोगका लागि हारगुहार गरेमात्र होइन धवलशमशेरको पक्षमा बोल्ने, लेख्ने र स्वास्थ्यलाभको शुभकामना दिनेलाई समेत कारवाही गर्नुपर्छ भनेर कुर्लिए । राणा भने यसबीच केही नबोली मुुसुमुसु हाँसे मात्रै । एक सहयोगीका अनुसार, करिव बीस जनाको टोलीमा राणाले आधाभन्दा बढी नयाँ अनुहारलाई चिनेनन् पनि ।
धवलशमशेर बिरामी भएर उपचार गर्न भारत गएका बेला सामान्य मानवीय संवेदनासमेत ख्याल नगरी लिङ्देनले पार्टीमा एकलौटी गरेपछि राप्रपामा विवाद छताछुल्ल भएको छ । आन्दोलन तुहाउन चाहने तत्वले लिङ्देनलाई घेराबन्दीमा पारेको र आगामी महाधिवेशनमा कमजोर अवस्था देखेपछि लिङ्देन विधान उल्लंघन गर्दै बलमिचाइमा लागेको भन्ने धारणा व्यापक भएको छ ।
आन्दोलन परिचालन समितिका संयोजक समेत रहेका धवलशमशेरलाई आगामी महाधिवेशनमा अध्यक्षको प्रवल दावेदारको रुपमा हेरिएको छ । पूर्वअध्यक्ष प्रकाशचन्द्र लोहनीले समेत सामाजिक सञ्जालमार्फत अध्यक्षको निर्णय अस्वीकार गर्ने घोषणा गरेका छन् ।
‘हिजो पार्टीको अध्यक्ष भएर आएकाले पनि, भोलिका दिनमा पार्टी अध्यक्ष हुन्छु भन्नेहरूले पनि र पार्टी सदस्य सबैले बुझ्नुपर्ने कुरा के भने राप्रपाको विधानमा विभागहरूको गठन र काम, कर्तव्य तोक्ने काम केन्द्रीय कार्य समितिले गर्दछ । वर्तमान अध्यक्ष, पदाधिकारी, सबैले विधानको स्पष्ट व्यवस्था पालना गर्नुपर्दछ,’ राप्रपाका युवा नेता प्रेम देसार भन्छन् ।
महाधिवेशनबाट पारित विधानको धारा २४ (छ) र (झ) मा विभागहरु गठन गर्ने र तिनको काम, कर्तव्य, अधिकार तोक्ने अधिकार केन्द्रीय समितिमा निहीत छ । धारा ३२ को व्यवस्थाअनुसार अध्यक्षले अनुशासनसम्बन्धी प्रस्ताव अघि बढाउन र अनुशासन समितिको सिफारिस कार्यान्वयन गर्नसमेत केन्द्रीय समितिमा पेश गरेर निर्णय गराउनु पर्दछ । विधानमा अध्यक्षलाई आमन्त्रित केन्द्रीय सदस्य मनोनयन गर्ने बाहेक अरु एकल अधिकार दिइएको छैन ।
विधानको व्यवस्थाभन्दा पृथक अधिकार अध्यक्षले प्रयोगमा ल्याए संस्थापनले नै समानान्तर व्यवस्था चलाएको भन्ने आठौं आश्चर्य हुनेछ ।
प्रतिक्रिया